खरकण्डेटारमा पक्की पुल बनाउन प्रदेश सरकारलाई राक्सिराङको माग

पालिका डायरी
११ कार्तिक २०८३, १७:१०

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिकाले खरकण्डेटारमा पक्की पुल निर्माणका लागि बजेट सुनिश्चित गरिदिन बागमती प्रदेश सरकारसँग माग गरेको छ। गाउँपालिकाले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाउँदै पुल निर्माणका लागि बजेट विनियोजन गरी बहुवर्षीय योजनाअन्तर्गत ठेक्का प्रक्रिया अघि बढाइदिन आग्रह गरेको हो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, संविधान सभा सदस्य गोविन्दराम चेपाङको उपस्थितीमा मंगलबार मन्त्री भरत केसीलाई पत्र बुझाउँदै मकवानपुर, चितवन र धादिङ जिल्लाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने दामन–डाँडाबास–बम्दी–खैराङ–काँकडा–भण्डारा सडकखण्डमा पर्ने खरकण्डेटार पुल निर्माण आवश्यक रहेको उल्लेख गरेका छन्।

उक्त सडकखण्ड नारायणगढ–मुग्लिन सडकको वैकल्पिक मार्ग हुनुका साथै काठमाडौंको चन्द्रागिरि र थानकोट जोड्ने छोटो दूरीको सडकसमेत रहेको गाउँपालिकाको दाबी छ। यस सडकमा वर्षैभरि निर्वाध यातायात सञ्चालन गर्न खरकण्डेटारमा पक्की पुल निर्माण आवश्यक रहेको पत्रमा उल्लेख छ।
गाउँपालिकाका अनुसार पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। तर, गाउँपालिकाको आन्तरिक आम्दानी न्यून र स्रोतसाधन सीमित रहेकाले ठूलो लागतको आयोजना आफ्नै बजेटबाट निर्माण गर्न सम्भव नभएको जनाइएको छ।

पुल निर्माण भएपछि विशेषगरी यस क्षेत्रका सीमान्तकृत चेपाङ समुदायको सामाजिक तथा आर्थिक जीवनस्तर सुधार गर्न, स्वास्थ्य सेवा र शिक्षामा पहुँच बढाउन तथा स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने अपेक्षा गाउँपालिकाको छ। अन्तरजिल्ला जोड्ने महत्वपूर्ण सडकमा पर्ने पुल निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट सुनिश्चित गरी बहुवर्षीय योजनामा समावेश गर्नुपर्ने माग गाउँपालिकाले गरेको छ।

प्रतिक्रिया