चक्रवातको सम्भावित प्रभावः हेटौँडाका किसानलाई सतर्क रहन आग्रह

पालिका डायरी
११ कार्तिक २०८३, १७:२९

हेटौंडा / दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र चक्रवातीय आँधीमा परिणत भई मौसम प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले किसानलाई सतर्क रहन आग्रह गरेको छ । उपमहानगरपालिकाको कृषि विकास शाखाले कात्तिक १२ देखि १५ गतेसम्म प्रतिकूल मौसमको सम्भावना रहेकाले कृषि बाली, पशुपन्छी तथा कृषि उपजमा क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन किसानलाई अनुरोध गरेको हो ।

बुधबार उपमहानगरपालिकले एक सूचना जारी गर्दै पाक्न लागेका तथा भित्र्याउन योग्य बाली सम्भव भएसम्म सुरक्षित भण्डारण गर्न आग्रह गरेको छ । काटिसकेका कृषि उपजलाई वर्षा र हावाहुरीबाट जोगाउन ओभानो तथा सुरक्षित स्थानमा राख्नसमेत भनिएको छ ।

त्यस्तै, बीउबिजन, मलखाद तथा कृषि औजारलाई पानी नपस्ने स्थानमा भण्डारण गर्न, तरकारी, फलफूल तथा अन्य नगदे बालीमा हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी अपनाउन र पशुपन्छीलाई सुरक्षित स्थानमा राख्न उपमहानगरपालिकाले आग्रह गरेको छ । खेतबारीमा पानी जम्ने सम्भावना भए निकासको व्यवस्था मिलाउन तथा गोठ र खोरमा पानी पस्न नदिन पनि किसानलाई अनुरोध गरिएको छ ।

अन्नबालीलाई कात्तिक १५ गतेपछि मात्र कटानी गर्न उपमहानगरपालिकाले सुझाव दिएको छ । प्रतिकूल मौसमका कारण किसानले लगाएको बाली तथा कृषि उपजमा हुन सक्ने सम्भावित क्षति कम गर्न समयमै सतर्कता र पूर्वतयारी अपनाउन उपमहानगरपालिकाले सबै कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीलाई आग्रह गरेको हो ।

प्रतिक्रिया