बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मन्त्री तामाङको अपिल

पालिका डायरी
११ कार्तिक २०८३, २०:३७

हेटौँडा /  बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेका छन् ।
मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारदेखि नेपालको मौसममा परिवर्तन हुने सम्भावना छ । विशेषगरी कात्तिक १३ र १४ गते बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको मन्त्री तामाङले बताए ।
सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम रहने भएकाले जनधनको क्षति न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउनुपर्ने उनले बताए ।
काट्न तयार भएका धानलगायतका बाली सम्भव भएसम्म कात्तिक १२ गतेअघि नै भित्र्याउन, काटिसकेका बाली सुरक्षित र ओभानो स्थानमा राख्न तथा पशुचौपाया, बीउबिजन र खाद्यान्न सुरक्षित गर्न मन्त्री तामाङले आग्रह गरेका छन् ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका कार्यक्रम मौसम अनुकूल नभएसम्म स्थगित गर्न, नदी तथा खोला किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।
बाढी आएको खोला तथा डुबानमा परेका सडक पार नगर्न, चट्याङ र हावाहुरीका बेला खुला स्थान, अग्ला रूख तथा विद्युत् पोलनजिक नबस्न र सुरक्षित भवनभित्र आश्रय लिनसमेत मन्त्री तामाङले आग्रह गरेका छन् ।
अत्यावश्यक कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्राअघि मौसम र सडकको अवस्था बुझ्न तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना र चेतावनीको पालना गर्न उनले अनुरोध गरेका छन् ।
मन्त्रालय मातहतका कार्यालय तथा कर्मचारीलाई सम्भावित आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्री तामाङले बताए ।
मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४ र नेपाल प्रहरीको सहयोगका लागि १०० मा सम्पर्क गर्न सकिने उनले बताए ।

प्रतिक्रिया