सडक भत्काएर हेटौँडालाई कुरूप बनाउने छुट कसैलाई छैन : वडाध्यक्ष सिग्देल
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले सडक विस्तारका नाममा नागरिकका घर तथा व्यावसायिक संरचना भत्काएर लामो समयसम्म सडक अलपत्र छाडिएको भन्दै सङ्घीय सरकार र हेटौँडा उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सडक विस्तारका क्रममा प्रभावित नागरिकले क्षतिपूर्ति नपाएको, व्यवसायीहरूको उचित व्यवस्थापन नभएको र भत्काइएका संरचनाका भग्नावशेषसमेत व्यवस्थापन हुन नसकेको भन्दै उनले सम्बन्धित निकायको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
कात्तिक ११ गते सार्वजनिक गरेको लिखित धारणामार्फत वडाध्यक्ष सिग्देलले हेटौँडाको सडक फराकिलो बनाउनु आवश्यक भए पनि विकासका नाममा नागरिकमाथि अन्याय गरेर सहरलाई अनिश्चितकालसम्म अस्तव्यस्त राख्न नमिल्ने स्पष्ट पारेका छन्।
उनले सडक विस्तारबाट प्रभावित नागरिकलाई न्याय दिनुपर्ने, भत्काइएका घर तथा संरचना र सडकमा परेको जग्गासम्बन्धी एकीकृत सम्पत्ति करको लगत कट्टा गर्नुपर्ने तथा सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्नुपर्ने तीन प्रमुख माग अघि सारेका छन्।


