हेटौँडामा राष्ट्रिय स्नुकर च्याम्पियनसिप सुरु

पालिका डायरी
१० कार्तिक २०८३, २१:२४

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका–१५ ले स्थानीय तहको भूमिका भौतिक पूर्वाधार निर्माण र नियमित विकास गतिविधिमा मात्र सीमित नराखी खेलकुदमार्फत युवाको प्रतिभा पहिचान, क्षमता विकास र राष्ट्रियस्तरमा स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न सकिन्छ भन्ने सन्देशसहित राष्ट्रिय स्नुकर च्याम्पियनसिप आयोजना गरेको छ।

वडा अध्यक्ष सुनिल मोक्तानको नेतृत्वमा खेलकुद प्रवर्द्धनलाई प्राथमिकता दिँदै वडा नम्बर १५ को आयोजनामा ‘वडा अध्यक्ष कप–२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप–१६)’ मंगलबारदेखि हेटौँडामा सुरु भएको हो।

स्थानीय तहको आयोजनामा राष्ट्रियस्तरका उत्कृष्ट स्नुकर खेलाडीलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउने प्रयासले हेटौँडा–१५ को खेलकुद गतिविधिलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। विशेषगरी स्नुकरजस्तो एकाग्रता, धैर्य, अनुशासन र रणनीतिक क्षमतामा आधारित खेललाई संस्थागत रूपमा अगाडि बढाउन वडाले देखाएको सक्रियतालाई प्रतियोगिताको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

हेटौँडा–४ स्थित लियम स्नुकर हाउसमा आयोजित विशेष समारोहबीच हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्।

हेटौँडा–१५ खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक प्रितम रानाको सभाध्यक्षतामा सम्पन्न समारोहमा उपप्रमुख बानियाँले रिबन काट्नुका साथै स्नुकर बल प्रहार गरेर प्रतियोगिताको शुभारम्भ गरेका थिए।

प्रतिक्रिया