हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
मंगलबार दिउँसो १ः३५ बजे रातोमाटे प्रहरी चौकी, मकवानपुर र ट्राफिक प्रहरीसहित खटिएको चेकिङ टोलीले भारतबाट बारा तर्फ जाँदै गरेको BR1AP6073 नम्बरको भारतीय गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार शङ्का लागेर गाडी जाँच गर्दा बोनट, चालक सिटमुनि खुट्टा राख्ने स्थान र चालकको साइडमा रहेको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १९ पोका गाँजा फेला परेको थियो। बरामद गाँजाको तौल प्लास्टिकसहित ४२ किलो ४१० ग्राम रहेको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, महुवा टोल निवासी २५ वर्षीय बिर्जु कुमार राय र सोही स्थानका २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ।


