झापामा जमिनमुनिको डिजेल ट्यांकी पड्किँदा आगलागी, १ घाइते

पालिका डायरी
१० कार्तिक २०८३, ०७:५७

झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एकजना घाइते भएका छन्।

जमिनमुनि राखेको ट्याङ्कीबाट टिफरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

आइतबार राति साँझ साढे बजेतिर कम्पनी परिसरमा जमिनमुनि राखेको ट्याङ्कीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरमा लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको हो।

आगलागीको रापले टिफर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बिस्फोटबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली खटिएका थियो।

शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया