स्थानीय उत्पादनको बजारीकरणमा उपमहानगरले सहयोग गर्छ : नगरप्रमुख लामा
हेटौँडा / हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाले स्थानीय उत्पादनको प्रवर्द्धन र महिला उद्यमीलाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताएकी छन् । उनले ढाका कपडादेखि गुन्द्रुक, दालमोट, पापड, काठका सामग्री र कृषि उत्पादनसम्मलाई व्यावसायिक रूपमा विस्तार गर्दै बजारसँग जोड्नुपर्नेमा जोड दिइन् ।
शनिबार हेटौँडा–१० को बुद्धचोकमा आयोजित ढाका उद्यमी सम्मेलन तथा बजार प्रवर्द्धन कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले स्थानीय उत्पादनको पहिचान स्थापित गर्न उत्पादनसँगै बजारीकरणमा पनि ध्यान दिनुपर्ने बताइन् । उद्यमीले मेहनत गरेर उत्पादन गरेका वस्तुले उचित मूल्य र बजार पाउने वातावरण निर्माण गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

‘हाम्रो उत्पादन, हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित सम्मेलनमा लामाले हेटौँडामै ढाका बुन्ने काम सुरु गराउन उपमहानगरपालिकाले सिन्धुलीबाट प्रशिक्षक ल्याएर तालिम दिएको स्मरण गरिन् । अहिले हेटौँडामै उत्पादित ढाका प्रयोग गर्न पाउने अवस्था बनेको उल्लेख गर्दै उनले परम्परागत सीप संरक्षणमा जुटेका महिला उद्यमीको मेहनतको प्रशंसा गरिन् ।
उनले उद्यमीले गरेको मेहनतअनुसार पारिश्रमिक पाउन नसकेको अवस्था रहे पनि उनीहरूले सीप र उत्पादनलाई निरन्तरता दिइरहेको बताइन् । पछिल्लो समय स्वदेशी उत्पादन प्रयोग गर्ने र स्थानीय वस्तुलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएकाले त्यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
हेटौँडामा ढाका उत्पादनलाई मात्र नभई अन्य घरेलु तथा साना उद्योगलाई समेत व्यावसायिक बनाउने योजना रहेको लामाले बताइन् । गुन्द्रुक, दालमोट, पापड, काठका सामग्री, ठेकी तथा कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने योजनासहित उपमहानगरपालिका अघि बढेको उनले जानकारी दिइन् ।
प्रदेश सरकारसँगको सहकार्यमा कोसेली घर निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै लामाले त्यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । स्थानीय उत्पादनलाई मायाको चिनोका रूपमा प्रयोग गर्न थालिएपछि काठका सामग्री र ठेकी उत्पादन गर्ने उद्यमीको बजार विस्तारमा सहयोग पुगेको उदाहरणसमेत उनले प्रस्तुत गरिन् ।
महिला उद्यमीलाई आवश्यक प्रविधि उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको नगरप्रमुख लामाले बताइन् । उपमहानगरपालिकाले प्रविधिको आवश्यकताबारे सूचना आह्वान गरेपछि निवेदन प्राप्त भएको र दातृ निकाय तथा महिला मैत्री संस्थासँगको सहकार्यमा प्रविधि वितरण गरिने उनको भनाइ थियो । प्रविधिको उपलब्धताले घरेलु तथा साना उद्योगको उत्पादन क्षमता बढाउन र व्यवसायलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हेटौँडामा सिन्दूर, अविर र केसरी उत्पादन गर्ने उद्योग सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै लामाले त्यसका लागि तालिमसमेत उपलब्ध गराइसकिएको बताइन् । साना उद्योगलाई क्रमशः विस्तार गर्दै व्यावसायिक बनाउने र स्थानीय उत्पादनलाई अन्य क्षेत्रका बजारसम्म पुर्याउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।
महिला उद्यमीलाई उत्पादनमा मात्र सीमित नराखी बजारीकरण, प्रवर्द्धन र बजारसँगको सम्बन्ध विस्तारमा समेत सहयोग आवश्यक रहेको उनको भनाइ थियो । घरायसी कामसँगै व्यवसाय सञ्चालन गरेर आयआर्जनमा जुटेका महिलाको मेहनतलाई सम्मान गर्दै उनीहरूलाई निरन्तर अघि बढ्न प्रोत्साहित गर्नुपर्ने उनले बताइन् ।
आफ्नो कार्यकालको अन्तिम चरणमा रहेको उल्लेख गर्दै लामाले झन्डै साढे नौ वर्षको अवधिमा महिला उद्यमी र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि प्रयास गरेको बताइन् । सबै उद्यमीलाई व्यक्तिगत रूपमा सहयोग गर्न सम्भव नभए पनि सामूहिक कार्यक्रममार्फत धेरै उद्यमीलाई जोड्ने प्रयास गरिएको उनको भनाइ थियो ।
हेटौँडा–१० का वडाध्यक्षले स्थानीय उत्पादनको पहिचान स्थापित गर्न, महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले उत्पादन गरेका वस्तुको बजार विस्तार गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । स्थानीयस्तरमा उत्पादित ढाका कपडासहितका सामग्री उपभोक्तामाझ पुर्याउन मेला तथा प्रदर्शनीले सहयोग गर्ने उनको भनाइ थियो ।
हेटौँडा ढाका उद्यमी समूह हेटौँडा–१० को आयोजनामा भएको सम्मेलन तथा बजार प्रवर्द्धन कार्यक्रम नगर महिला उद्यमी सञ्जालको समन्वय तथा व्यवस्थापन र हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न भएको हो ।


