भित्तो काटेर खुलाइँदै गलौदी सडक, पृथ्वी राजमार्ग अझै अवरुद्ध

पालिका डायरी
२४ आश्विन २०८३, १६:२५
भित्तो काटेर खुलाइँदै गलौदी सडक, पृथ्वी राजमार्ग अझै अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि शुक्रबार साँझदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास तीव्र पारिएको छ। सडक भासिएको स्थानमा माथिल्लो भित्तो काटेर सडक सञ्चालनमा ल्याउने काम थालिएको हो।

नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार गजुरीबाट काठमाडौँतर्फ करिब पाँच किलोमिटर दूरीमा रहेको गलौदीमा करिब ७० मिटर लम्बाइ र चार मिटर चौडाइको सडक भासिएको छ।

सडक भित्तासम्मै चर्किएकाले तत्काल सडक खुलाउन चुनौती देखिएको छ। राजमार्गलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन पाँच वटा एक्साभेटर, दुई वटा लोडर र छ वटा टिपर प्रयोग गरी भित्तो काट्ने तथा ब्याक कटिङ गर्ने काम भइरहेको इन्जिनियर मानन्धरले जानकारी दिए।

सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यस मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरी काम अघि बढाइएको छ।

भासिएको सडकको अवस्था र मर्मत कार्यको प्रगतिका आधारमा राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

प्रतिक्रिया