त्रिभुवन मा.वि.को अभिभावक दिवस , शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अभिभावक दिवस, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। पीटीए अध्यक्ष रामकृष्ण बस्नेतको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य सञ्जय बिडारी, जनक लामिछाने, गोविन्दप्रसाद न्यौपाने, बद्री लम्साल, जमुना राई, बिनु नेपाली, प्रधानाध्यापक रामकुमार बर्तौला, पीटीए सदस्य छबिलाल वाइबा, सहायक प्रधानाध्यापक बैकुण्ठ नेपाल, शर्मिला ढकाल, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गत वर्षको परीक्षामा उत्कृष्ट नतिजा ल्याई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने शिशुदेखि कक्षा ११ सम्मका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, वर्षका उत्कृष्ट शिक्षक–शिक्षिका, अभिभावक तथा हेटौँडा उपमहानगरपालिका–११ का चार जना वडा सदस्यलाई पनि सम्मान गरिएको थियो। विद्यालयको चौतर्फी विकासमा सहयोग पुर्याएबापत वडा सदस्यहरूलाई सम्मान गरिएको प्रधानाध्यापक रामकुमार बर्तौलाले जानकारी दिए।
कार्यक्रममा अभिभावकहरूका लागि म्युजिकल चेयर खेल, बालबालिकाको नृत्य तथा नाटक, अभिभावकहरूको नृत्य र शिक्षक–शिक्षिकाको कविता वाचन तथा नृत्य प्रस्तुत गरिएको थियो। विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।


