हेटौंडा जनप्रिय क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न
हेटौंडा / हेटौंडा जनप्रिय क्याम्पस (बीएसी एग्रीकल्चर) को दोस्रो क्याम्पस सभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–१६ स्थित क्याम्पस परिसरमा दोस्रो क्याम्पस सभा सम्पन्न भएको हो। हेटौंडा उपमहानगरपालिका र हेटौंडा क्याम्पसको सहकार्यमा सामुदायिक क्याम्पसका रूपमा २०८० मा हेटौंडा जनप्रिय क्याम्पस स्थापना गरिएको थियो । क्याम्पसले २०८२ मा पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरबाट सम्बन्धन प्राप्त गरेपछि आर्थिक वर्ष २०८२÷८३ देखि कृषि विषयको शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख एंव् क्याम्पसकी अध्यक्ष मीना कुमारी लामाले क्याम्पस सभामा सम्बोधन गर्दै लामो समयको मेहेनतपछि बीएसी एग्रीकल्चर पठाउन सकिएको बताइन्। उनले प्राविधिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्नु देशका लागि महत्वपूर्ण लगानी हुने बताएकी छन् ।
क्याम्पसको विकास र व्यवस्थापनका विषयमा धारणा राख्दै मेयर लामाले पाँच जना मात्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सके पनि त्यसले देशलाई योगदान पुग्ने बताइन् । क्याम्पस स्थापना गर्नुको मुख्य उद्देश्य विद्यार्थीलाई दक्ष र सक्षम बनाउनु रहेको उनको भनाइ थियो ।
उनले क्याम्पस सञ्चालनका लागि स्थानीय तहले पनि आवश्यक विषयमा ध्यान दिनुपर्ने बताइन् । क्याम्पस स्थापना गर्न छोटो समय नभई लामो प्रयास र मेहनत लागेको उल्लेख गर्दै उनले यसको दिगोपन र व्यवस्थित सञ्चालनका लागि थप मेहनत आवश्यक रहेको बताइन् ।

मेयर लामाले क्याम्पसलाई नेपालकै सस्तो कलेजका रूपमा विकास गर्ने प्रयास भइरहेको पनि जानकारी दिइन् । क्याम्पस सञ्चालनका लागि भवन, जमिन र प्रयोगात्मक अभ्यासका लागि प्रयोगशालासमेत उपलब्ध गराएर सहयोग गरेको भन्दै उनले जनप्रिय माध्यमिक विद्यालयप्रति आभार व्यक्त गरिन् ।
कृषि उत्पादनका दृष्टिले अग्रणी जिल्लाका रूपमा चिनिने मकवानपुरमा कृषि विषयको उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई सहज बनाउने उद्देश्यले हेटौंडा जनप्रिय क्याम्पसले बीएस्सी अनर्स एग्रिकल्चर कार्यक्रम सञ्चालनमा ल्याएको सञ्चालक समितिका उपाध्यक्ष आनन्दराम पराजुलीले बताए।
आधुनिक कृषि प्रविधि, अनुसन्धान र दक्ष प्राविधिक जनशक्तिको अभाव झेलिरहेको मकवानपुरमा स्थानीय स्तरमै कृषि विषयको उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो। यसअघि कृषि विषय अध्ययन गर्न जिल्लाका विद्यार्थी चितवन, पोखरालगायत भारतका विभिन्न स्थानमा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै आर्थिक, सामाजिक तथा भौगोलिक समस्याका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको पराजुलीको भनाइ थियो। क्याम्पस सभामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो। ४८ जनाको कोटा रहेको विद्यालयमा हालसम्म ४१ जनाले भर्ना गरिसकेको बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रेमबहादुर पुलामी ‘छिन्तु’ले मकवानपुर शैक्षिक हबका रूपमा विकास भइरहेको बताए । उनले हेटौंडा उपमहानगरपालिकाले कृषि र कानुन विषयको उच्च शिक्षा अध्ययनका लागि गरेको लगानी प्रशंसनीय रहेको उल्लेख गर्दै यसले स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने बताए । सभामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, हेटौंडा–१ का वडाध्यक्ष सबिन न्यौपाने, ४ का वडाध्यक्ष नविन सिग्देल, ७ नम्बर वडाध्यक्ष दामोदर गौतम, हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला लगायतको उपस्थिती रहेको थियो।


