केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बानियाँको घोषणा
नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
काठमाडौंको थापाथलीस्थित बानेश्वर हिल्समा मंगलबार बिहान आयोजित बागमती प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा बानियाँले उम्मेदवारी घोषणा गरेका हुन्।
पार्टीको पदाधिकारीमा आकांक्षीहरूको संख्या धेरै रहेको र सबैलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण अवस्था देखिएकाले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए।
उनले पार्टीलाई सुदृढ र एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।
‘नेपाली कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता हो। यो पार्टीलाई भिडको पार्टी बन्न दिनु हुँदैन। यो त बीपी कोइरालाले अघि सारेको विचार बोकेको पार्टी हो,’ बानियाँले भने।
पार्टीभित्र सबैले परस्पर सहयोगको भावना राख्नुपर्ने बताउँदै उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर पार्टीको व्यवस्थापनमा सहयोग गर्न खोजेको बताए।
‘त्यसकारण अहिले सदस्य लडेर व्यवस्थापनमा सहयोग गर्दैछु। हामी सबैले परस्पर सहयोगको भावना राखेर पार्टीलाई बचाएर अघि बढ्न जरुरी छ,’ उनले भने।
अन्तरसंवादमा बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका पार्टी सभापति, क्षेत्रीय, नगर तथा पालिका सभापति र अन्य महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए।


