दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश

पालिका डायरी
२० आश्विन २०८३, १६:३३
file photo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई असोज १२ गते पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका थिए । खतिवडा जेनजी शहीद रसिक खतिवडाकी आमा हुन् । शहीदलाई लिएर प्रसाईंले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप छ ।

प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन् । यसअघि उनी गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।  त्यस्तै, गत भदौ ४ गते उनको घरमा खानतलासी गरिएको थियो । सर्वोच्च अदालतको आदेशमा उनको घरबाट बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो ।

यस पटक पनि उनको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो । रिट विचाराधीन रहेकै बेला जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया