निर्माण व्यवसायीका समस्या समाधानमा सरकार चुकेको एमालेको आरोप

राम कुमार दानी
२० आश्विन २०८३, २१:१६

हेटौँडा । नेकपा (एमाले) निकट नेपाल निर्माण उद्योग परिषद् मकवानपुरले विजयादशमी, शुभदीपावली तथा छठ पर्व २०८३ को अवसरमा बधाई, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी एमाले नेताहरूले निर्माण व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै आलोचना गरेका छन्।

नेपाल निर्माण उद्योग परिषद् मकवानपुरका जिल्ला अध्यक्ष नरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल, एमाले मकवानपुर जिल्ला अध्यक्ष हिदाम लामा, पूर्व जिल्ला समन्वय प्रमुख तथा एमाले नेता रघु खुलाललगायत एमालेका नेता–कार्यकर्ता तथा निर्माण व्यवसायीहरूको उपस्थिति थियो।

हालै सम्पन्न निर्माण व्यवसायी संघ मकवानपुरको अधिवेशनबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्ष प्रकाश लामा तथा सदस्यहरू ऐशन पौडेल र रोशन ठकुरीलाई कार्यक्रममा सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै एमाले मकवानपुर जिल्ला अध्यक्ष हिदाम लामाले मकवानपुरको निर्माण क्षेत्रमा अठोटका साथ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीप्रति खुसी व्यक्त गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिए।

लामाले एमाले निकट निर्माण व्यवसायीलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्ने पार्टीका नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै निर्माण व्यवसायीका समस्याविरुद्ध संगठित भएर अघि बढ्न आग्रह गरे।

उनले निर्माण व्यवसायीको क्षेत्रमा राज्यले अपेक्षित ध्यान नदिएको आरोप लगाउँदै ‘निर्माण व्यवसायीको क्षेत्रमा राज्य गैरजिम्मेवार बनेको’ बताए। निर्माण क्षेत्र देशको विकास र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको भए पनि व्यवसायीका समस्या समाधानमा सरकार उदासीन देखिएको उनको भनाइ थियो।

त्यस्तै, एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले निर्माण व्यवसायीको सहजताका आधारमा सरकारले निर्णय प्रक्रिया टुंग्याउनुपर्ने बताए। काम सम्पन्न भइसकेपछि पनि भुक्तानीका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्दै सरकारले समयमा भुक्तानीको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।

सिग्देलले सरकार समस्या समाधानमा अग्रसर हुनुभन्दा आरोप–प्रत्यारोपमै सीमित भएको आरोप लगाए। लगानीमैत्री वातावरण निर्माण हुन नसक्दा व्यवसायीहरू नयाँ लगानी गर्न हिच्किचाइरहेको भन्दै उनले राज्यले निजी क्षेत्र र निर्माण व्यवसायीको विश्वास जित्नुपर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णयसहित समसामयिक राजनीतिक विषयमा धारणा राखे।

रानाले पार्टीको नीति, विधि र निर्णयलाई आत्मसात् गर्दै अघि बढ्न नेता–कार्यकर्ता तथा व्यवसायीहरूलाई आग्रह गरे। उनले संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए।

आगामी निर्वाचनलाई लक्षित गर्दै उनले एमालेका नेता–कार्यकर्तालाई संगठन सुदृढीकरण तथा जागरण अभियानमा सक्रिय हुन आग्रह गरे। मुलुकमा ‘राज्यविहीनताको अवस्था सिर्जना भएको’ दाबी गर्दै रानाले जनताबाट ताजा जनादेश लिएर **‘समृद्ध नेपाल, सुखी नेपाली’**को अभियानलाई अघि बढाउनुपर्ने बताए।

एमालेले लिएको राजनीतिक अडानबाट पछि नहट्न आग्रह गर्दै रानाले पार्टी संगठनलाई थप बलियो बनाउँदै जनतासँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिए।

कार्यक्रमले निर्माण व्यवसायीका समस्या, राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीलाई समेत जोड दिँदै एमाले निकट व्यवसायी तथा पार्टी संगठनबीचको सहकार्यलाई थप मजबुत बनाउने सन्देश दिएको छ।

प्रतिक्रिया