कुलेखानी बाँध सुरक्षित र सामान्य, मन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजना बाँधकाे निरीक्षण गरेका छन् ।
पछिल्लो ८-१२ असाेजकाे भारी वर्षाले खतराकाे सतह पार गरेकाे बाँधकाे वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका हुन् । मन्त्री श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ सुनाएका थिए ।
मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित र सामान्य रहेकाे बताए । भारी वर्षाका बेला बाँधमा उच्च निगरानी गरिएको र सबै रणनीति अपनाइएकाे उनले बताए । सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लाे तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएकाे थियाे,´ उनले भने, `आज आएर हेर्दा म्यानेज भएकाे छ। ड्याम स्टेबल छ ।´
केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति हुँदा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहसम्म पुगेको थियो र जोखिमको चिन्ता बढाएको थियो। साथै यसले विद्युत् आपूर्ति व्यवस्थापनमा समेत केही दबाब सिर्जना गरेको थियो । मन्त्री श्रेष्ठका अनुसार नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो ।
उनले थेपे, `कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्यौँ । बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको छ । ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय छ ।´
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठले कुलेखानी विद्युत प्रणालीकाे मेरुदण्ड भएकाे बताए । `यसले सिस्टमलाई पिकिङका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ,´ उनले भने, `सिस्टम अपरेटकाे पाेइन्ट अफ भ्युबाट ठुलाे याेगदान रहिआएकाे छ ।´
एमडी श्रेष्ठले पनि बाँधकाे अवस्था सामान्य रहेकाे जानकारी दिए ।



