गाडीमा अचानक बेहोस भएका १९ वर्षीय युवकको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा इभी गाडीमा यात्रा गरिरहेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ९ः३० बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७७५ नम्बरको इभी गाडीमा सवार बारा सिम्रौनगढ नगरपालिका–११ का करिब १९ वर्षीय प्रदीप पटेल सिस्नेरीको टेकर भन्ने स्थानमा पुग्दा अचानक बेहोस भएका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी सिस्नेरी, मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर पटेललाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी सिस्नेरी लगेको थियो। सामान्य उपचारपछि उनी बोल्न सक्ने अवस्थामा आएका थिए। तर, आफूलाई श्वास फेर्न अप्ठ्यारो भएको बताएपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले बिरामीका भाइ सन्दिप पटेलसँग फोनमार्फत समन्वय गर्दै थप उपचारका लागि काठमाडौं पठाएको जनाएको छ। गाडीका चालक बारा जिल्ला कलैया उपमहानगरपालिका–१९ का करिब २९ वर्षीय तितेश राउत कुर्मी र गाडी प्रहरी चौकी सिस्नेरीको नियन्त्रणमा रहेको बताइएको छ।
पटेललाई काठमाडौंस्थित बयोधा अस्पताल, बल्खुमा पुर्याएर उपचार तथा स्वास्थ्य परीक्षण गर्ने क्रममा बिहान ११ः०३ बजे चिकित्सकले मृत घोषणा गरेको जानकारी प्रहरी वृत्त बल्खुबाट प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



