हेटौंडामा म्याजिकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित महेन्द्र राजमार्गमा म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
सोमबार बिहान करिब ११ः१० बजे हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ज ०००१ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको ना.४३ प ७५५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ निवासी करिब ३४ वर्षीय आशिष पाठक घाइते भएका छन्। उनको टाउको, अनुहार, दुवै हातखुट्टा तथा छातीमा भित्री चोट लागेको बताइएको छ।
घाइते पाठकको हेटौंडा अस्पताल, मकवानपुरमा उपचार भइरहेको छ। प्रारम्भिक अवस्थामा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुवै सवारीसाधन र म्याजिक चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी निवासी करिब ५० वर्षीय लक्ष्मण बर्तौला जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



