सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो बनाउने व्यक्ति पक्राउ

पालिका डायरी
२२ भाद्र २०८३, ११:३७
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने अभिव्यक्तिसहितको भिडियो सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडै रहेका छन् । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुसी व्यक्त गर्ने किसिमको भिडियो सामग्री तयार गरी सामाजिक सञ्जाल फेसबुक रिलमार्फत प्रसारण गरेको सम्बन्धमा अनुसन्धान अघि बढाइएको थियो ।

उक्त भिडियो सामग्रीका सम्बन्धमा ब्यूरोबाट गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा मडैको संलग्नता खुलेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई २०८३ भदौ २० गते पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सामाजिक सद्भाव, जातीय तथा सामुदायिक सहिष्णुतामा असर पार्ने किसिमका सामग्री सामाजिक सञ्जालमा प्रसारण गर्ने कार्यमाथि अनुसन्धान तथा निगरानी भइरहेको जनाएको छ ।

प्रतिक्रिया