अस्ट्रेलियाबाट आउँदै विशेषज्ञ ड्रोन अपरेटरसहित उद्धार टोली

पालिका डायरी
१८ भाद्र २०८३, १६:०५
अस्ट्रेलियाबाट आउँदै विशेषज्ञ ड्रोन अपरेटरसहित उद्धार टोली

भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धारमा सहयोग गर्न अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली पठाउने भएको छ। यससँगै अस्ट्रेलियाले नेपालका लागि आफ्नो मानवीय सहायता प्याकेजसमेत विस्तार गर्ने भएको हो।

न्यु साउथ वेल्स फायर एन्ड रेस्क्यु तथा क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसमेत रहेको टोली १५ सदस्यीय ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ नेपाल आउन लागेको छ। टोलीले अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरी प्रभावित क्षेत्रको द्रूत नक्सांकन तथा तस्बिर संकलन गर्नेछ। यसबाट नेपाली उद्धारकर्तालाई खोजी कार्यमा सहयोग पुग्ने अस्ट्रेलियाली सरकारले जनाएको छ।

नेपाल सरकारले सहयोगका लागि औपचारिक अनुरोध गरेपछि अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली पठाउन लागेको हो। अस्ट्रेलियाले थप खोज, उद्धार तथा पुनःस्थापनासम्बन्धी सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ।

नयाँ टोलीसहित नेपालमा संकट व्यवस्थापनका लागि अस्ट्रेलियाबाट खटिएका कर्मचारीको संख्या थपिनेछ। यसअघि नै १९ जना अस्ट्रेलियाली कर्मचारी नेपालमा परिचालन भइसकेका छन्। उनीहरूमा कन्सुलर तथा मानवीय सहायता अधिकारी, अस्ट्रेलियन फेडरल पुलिस र रक्षा मन्त्रालयका कर्मचारी छन्।

बाढीपछि नेपालमा रहेका ३८ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अस्ट्रेलियाली सरकारले जनाएको छ। उनीहरूको अवस्थाबारे जानकारी लिन अस्ट्रेलियाली अधिकारीहरूले नेपाल र चीनका सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेका छन्।

साथै, सम्पर्कविहीन नागरिकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको छ। नेपालमा आएको बाढीपछि अस्ट्रेलियाली नागरिकले बाढीपीडितको पुनःस्थापनामा सहयोग गरिरहेको ‘इमर्जेन्सी एक्सन एलायन्स’ लाई ४० लाख अस्ट्रेलियन डलरभन्दा बढी सहयोग गरिसकेका छन्।

प्रतिक्रिया