जमिनमुनि पुरियो पहिचान नखुलेका ८९७ शव
भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाएका ८९७ जनाको शव प्रहरीले जमिनमुनि पुरेको छ।
पहिचान नखुलेका शव पछि डीएनए परीक्षण गरेर आफन्तको जिम्मा लगाउने गरी हाल जमिनमा व्यवस्थापन गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए। हालसम्म एक हजार २५२ जनाको शव फेला परेको छ। त्यसमध्ये ९५ वटा शवको मात्रै पहिचान भएको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाइएको काफ्लेले बताए।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलन पनि भइरहेको छ। प्रहरी अस्पताल र सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट नमुना संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ। जमिनमा पुरिएका शवमध्ये २१३ महिला र ३१४ पुरूष छन् भने ३७० वटा शव महिला वा पुरुषको भन्ने खुलेको छैन। पहिचान नभएका ९६० वटा शवको विवरण नेपाल प्रहरीले आफ्नो वेबसाइटमा समेत सार्वजनिक गरेको छ।
भदौ १० गतेको बाढीमा परी सम्पर्कविहीन भएका चार हजार ८७५ जनाको खोजी कार्य भइरहेको डीआईजी काफ्लेले बताए। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र शव व्यवस्थापनलगायतका कार्यका लागि सात हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट उद्धार गरेर तीन हजार १०३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।
हालसम्म रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा १९० वटा फेला परेका छन्। त्यस्तै, भारतमा भेटिएका १८ शव नवलपरासी पश्चिममा बुझाइएको थियो।


