हेटौंडामा ४ हजार ८ सय ६० क्यापसुल ट्रामाडोलसहित युवक पक्राउ
हेटौंडा / मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोल र नाइट्राजेपामसहित हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ९ः४५ बजे हेटौंडा उपमहानगरपालिका–१६, पूर्वेली दमारस्थित २१ वर्षीय रञ्जन भोम्जनको घरमा कानुनबमोजिम खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भोम्जनले आफ्नो कोठाभित्र लुकाइछिपाइ राखेको अवस्थामा ट्रामाडोल ४ हजार ८ सय ६० क्यापसुल र नाइट्राजेपाम ३० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधसहित भोम्जनलाई नियन्त्रणमा लिनुका साथै उनले प्रयोग गर्ने बा.३१ प ७१९२ नम्बरको भीआर मोटरसाइकल, बा.८४ प ६०७० नम्बरको अपाचे मोटरसाइकल र एक थान चक्कुसमेत बरामद गरेको छ।
पक्राउ परेका भोम्जनलाई लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, सोही क्रममा Anti-Cough नामक १ हजार ४० ट्याब्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ। उक्त औषधिको विषयमा औषधि व्यवस्था विभाग कार्यालय वीरगञ्ज, पर्सासँग समन्वय गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।


