सिन्धुपाल्चोकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ६ः५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएको टिपर दुर्घटनाका क्रममा टिपरमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामाले सडक छेउतर्फ हाम फालेका थिए । त्यसलगत्तै टिपर पल्टिँदा लामा त्यसको च्यापमा परेका थिए ।
दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पुर्याएको थियो । तर उपचारकै क्रममा साँझ ७ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमपछि मृतकका बुवा हिरा बहादुर तामाङलाई जिम्मा लगाएको जनाएको छ । दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

