लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

पालिका डायरी
२७ श्रावण २०८३, ११:३५
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्।

गत साउन २६ गते खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा देवाही गोनाही नगरपालिका–१ करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा ७ जना प्रहरी, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमाण्डमा रबर बोर्डसहितको टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो।

खोजीका क्रममा साउन २७ गते बिहान ७ः३० बजे महमद रमतुलाहको शव घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

सोही समयमा सबनम खातुनको शव पनि घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिण जिंगडवास्थित खोलाको किनारमा फेला परेको थियो। दुवै शव करिब २०० मिटरको दूरीमा फेला परेका हुन्।

बेपत्ता रौशन खातुनको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीसहित सुरक्षाकर्मीले खोलाको विभिन्न क्षेत्रमा खोजी गरिरहेका छन्।

प्रतिक्रिया