फरार लुटपाट आरोपित पक्राउ गर्न प्रहरीको गोली, ट्रमा सेन्टरमा उपचाररत
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार रहेका आरोपित कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन १६ गते राति करिब १०ः२५ बजे तामाङलाई पक्राउ गर्ने क्रममा उनले साथमा रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका तामाङलाई घटनास्थलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ।
घाइते तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया

