हेटौंडाको चौघडा चोकमा मोटरसाइकल र टेलर ठोक्किँदा दुई जना घाइते
Ai photo
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–६ स्थित चौघडा चोक नजिक कान्तिलोक पथ सडक खण्डमा मोटरसाइकल र टेलर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार हेटौंडाबाट चुच्चेखोला तर्फ जाँदै गरेको बा ६५ प ४१३९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००१ ख ५९९८ नम्बरको खाली टेलरले ओभरटेक गर्ने क्रममा पछाडिको चक्काले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–६ निवासी अन्दाजी ५५ वर्षीय तिलक राउतको दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। त्यसैगरी मोटरसाइकलको पछाडि सवार हेटौंडा उपमहानगरपालिका–७ निवासी अन्दाजी ६० वर्षीय रेवतीप्रसाद चौलागाईको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
दुवै घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट प्रहरी नायब निरीक्षक सूर्यबहादुर श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी चौघडाको नियन्त्रणमा रहेको छ भने टेलर र चालक हेटौंडा उपमहानगरपालिका–१५ भोर्ले निवासी अन्दाजी ३४ वर्षीय मोहनकुमार मोक्तानलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।

