भरतपुरमा एकै ठाउँमा ठोक्किए ३ सवारी साधन, तीनैजना घाइते

पालिका डायरी
१७ श्रावण २०८३, ०८:५७

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्।

आइतबार (आज) बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सुविधानगरस्थित सडकखण्डमा तीन सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

चितवन प्रहरीका अनुसार बागमती प्रदेश ०१–०२८ च ३४७९ नम्बरको योद्धा गाडी, ना ४ प ५७६३ नम्बरको सामान बोक्ने सानो गाडी र भे १ क २३६२ नम्बरको आइचर ट्रक एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएका तीन जनाको तत्काल उद्धार गरी भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने उनीहरूको थप उपचार भइरहेको छ।

दुर्घटनापछि केही समय नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन प्रभावित बनेको थियो। प्रहरी र स्थानीयको सहयोगमा दुर्घटनामा संलग्न सवारीसाधन सडकबाट हटाइएपछि यातायात पुनः सहज रूपमा सञ्चालन गरिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया