कागजात नभएका १६८ अटो र सिटी सफारीमाथि कारबाही

पालिका डायरी
१७ श्रावण २०८३, १३:५६
कागजात नभएका १६८ अटो र सिटी सफारीमाथि कारबाही

आवश्यक कागजात बिना सञ्चालन भइरहेका सिटी सफारी तथा अटो रिक्साहरूमाथि जिल्ला प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरीले कडाइ गर्दै कारबाही गरेको छ।

​अटो र सिटी सफारीका चालकहरूले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक तथा सवारी बिमा बिना नै सवारी साधन चलाइरहेको भन्दै सर्वसाधारणबाट जनगुनासो प्राप्त भएपछि प्रहरीले जिल्लाका विभिन्न स्थानमा संयुक्त अपरेसन सञ्चालन गरेको जनाएको छ।

​प्रहरीका अनुसार, विशेष चेकजाँचका क्रममा कुल २८५ वटा सिटी सफारी र ७३ वटा अटो गरी ३५८ वटा सवारी साधनको अनुगमन गरिएको थियो। जसमध्ये तोकिएका आवश्यक कागजातहरू नबोकेका १६८ वटा सिटी तथा अटोहरूलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

​उक्त कारवाहीबाट दुई लाख दश हजार राजस्व संकलन भएको छ। साथै, तत्काल आवश्यक कागजातहरू बुझाउन नसकेका २७ वटा सवारी साधनहरूलाई थप अनुसन्धान र कारवाहीका लागि प्रहरी नियन्त्रणमै राखिएको छ। सवारी नियमको पालना गराउन र दुर्घटना न्यूनीकरणका लागि यस्ता अनुगमनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया