गाँजाको मुन्टा सेवन गर्दा वृद्ध बिरामी
दोलखाको जिरी नगरपालिका–५ लिङ्कन बजारका ६५ वर्षीय लिला बहादुर खड्का गाँजाको हरियो मुन्टा पकाएर सेवन गर्दा बिरामी परेका छन्।
ग्यास्ट्रिक निको हुने दाबी गरिएको YouTube भिडियो हेरेपछि खड्काले हरियो गाँजाको मुन्टा पानीमा उमालेर उक्त पानी सेवन गरेका थिए। सेवन गरेलगत्तै उनी छटपटाउन थालेपछि छिमेकीले तत्काल उद्धार गरी जिरी अस्पताल पुर्याएका हुन्।
अस्पतालमा उनको उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ र उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा छन्। खड्का घरमा एक्लै बस्दै आएका छन्। उनका दुई छोरी विदेशमा रहेका छन् भने एक छोरा काठमाडौंमा बस्दै आएका छन्।
यस घटनाले सामाजिक सञ्जालमा प्रसारित अपुष्ट स्वास्थ्यसम्बन्धी जानकारीको भरमा औषधि वा जडीबुटी सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या आउन सक्ने भएकाले चिकित्सकको सल्लाहबिना यस्ता उपाय नअपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

