कुटपिटबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु, एक जना पक्राउ
AI photo
पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असार ३१ गते बिहान करिब १०:५० बजे सडक विस्तारका क्रममा भत्काइएको घरको इँटा हटाउने विषयमा भएको विवादले उग्र रूप लिँदा स्थानीय अन्दाजी ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएकी लिलावती देवीको उपचार नारायणी अस्पतालमा गरिएको थियो। उपचारपछि साउन ३२ गते साँझ ५:४० बजे उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। तर साउन १४ गते साँझ अचानक स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उनलाई पुनः नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का मनोज प्रसाद कुर्मीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

