बँदेललाई थापेको विद्युतीय पासोमा आफ्नै पत्नी परेपछि पक्राउ
AI Photo
गुल्मीमा जंगली जनावरबाट बाली जोगाउन बारीमा थापिएको विद्युतीय पासोमा परेर महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय (गुल्मी) का डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार धुर्कोट गाउँपालिका-५, मन्टारीमा ६६ वर्षीय भेषराज भण्डारीले थापेको विद्युतीय पासोमा परेर उनकै पत्नीको निधन भएको हो।
भण्डारीले घरदेखि करिब १५० मिटर टाढा बारीमा जंगली बँदेलबाट बाली जोगाउन भनेर बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी पासो थापेका थिए। सोही करेन्टमा परी उनकी श्रीमती ६० वर्षीया हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल जिल्ला अस्पताल (तम्घास) लगिए पनि आज बिहान ३ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि करेन्ट प्रवाह गर्ने भेषराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्कालगायत कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। पहाडी जिल्लामा बँदेल, बाँदर, नीलगाईलगायत जंगली जनावरले बालीनाली नास गर्ने गरेका छन्।
रातदिन खेतबारी कुरेर पनि बाली जोगाउन मुस्किल हुने भएपछि कतिपय किसानले विद्युतीय तार वा अन्य जोखिमपूर्ण पासो प्रयोग गर्ने गरेका छन्। यस्ता उपायले मानव जीवन नै जोखिममा पर्ने भएकाले सुरक्षा अपनाउन र वैकल्पिक उपाय अवलम्बन गर्न प्रहरीले आग्रह गरेको छ।


