देशकै सर्वोत्कृष्ट पुनर्स्थापना केन्द्र बन्यो हेटौंडाको सिआन, गृह मन्त्रालयबाट सम्मान
लागुऔषध दुर्व्यसनको अन्धकारबाट जीवनलाई उज्यालोतर्फ डोर्याउन अहोरात्र खटिएको हेटौंडा उपमहानगरपालिका–९ स्थित सिआन पुनर्स्थापना केन्द्र देशकै सर्वोत्कृष्ट संस्थाका रूपमा सम्मानित भएको छ ।
‘अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवस’ को विशेष अवसरमा गृह मन्त्रालयमा आयोजित एक भव्य समारोहबीच संस्थालाई यस वर्षको कार्यसम्पादन उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो ।
गृह सचिव राजकुमार श्रेष्ठले सिआन पुनर्स्थापना केन्द्रको उदाहरणीय कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मानपत्र हस्तान्तरण गरेका छन् । सोही अवसरमा संस्थाको सामाजिक योगदानलाई थप प्रोत्साहन दिन मन्त्रालयका तर्फबाट रु. १ लाख नगद अनुदानसमेत प्रदान गरेकाे छ । मन्त्रालयका तर्फबाट प्रदान गरिएको उक्त सम्मान र अनुदान रकम सिआन पुनर्स्थापना केन्द्रका विभागीय प्रमुख उत्सव अर्यालले ग्रहण गरेका थिए ।
दुर्व्यसनमुक्त समाज निर्माण गर्ने महाअभियानमा सिआन पुनर्स्थापना केन्द्रले पुर्याएको योगदान आज देशभरका लागि एउटा बलियो उदाहरण बनेको छ । गृह मन्त्रालयबाट प्राप्त यो राष्ट्रिय सम्मानले पुनर्स्थापना क्षेत्रमा कार्यरत सबैलाई थप हौसला र ऊर्जा प्रदान गरेको केन्द्रका विभागीय प्रमुख उत्सव अर्यालले बताए ।


