मतदाता नामावलीमै विवाद, रास्वपा बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित; अधिवेशन अन्योलमा

पालिका डायरी
२७ जेष्ठ २०८३, १३:००
मतदाता नामावलीमै विवाद, रास्वपा बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित; अधिवेशन अन्योलमा

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन प्रक्रिया मतदाता नामावलीसम्बन्धी विवादका कारण स्थगित भएको छ। निर्वाचन समितिले तत्कालका लागि सम्पूर्ण निर्वाचन कार्यक्रम रोकेको घोषणा गरेसँगै अधिवेशनस्थल सुनसान बनेको छ भने नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।

निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। उनले मतदाता नामावलीबारे उठेका विवाद र गुनासाहरूको अध्ययन तथा आवश्यक निर्णयपछि २४ घण्टाभित्र अर्को सूचना जारी गरिने जानकारी दिएकी छन्।

मंगलबार निर्वाचन समितिले हस्तलिखित तथा अव्यवस्थित ढंगले मतदाता नामावली सार्वजनिक गरेको थियो। नामावली सार्वजनिक भएलगत्तै त्यसको विश्वसनीयता, प्रक्रिया र पारदर्शितामाथि विभिन्न प्रतिनिधि तथा सहभागीहरूले प्रश्न उठाएका थिए। विवाद बढ्दै गएपछि निर्वाचन प्रक्रियामाथि नै प्रश्नचिह्न खडा भएको थियो।

यद्यपि मतदाता नामावलीमाथि सुरुदेखि नै आपत्ति जनाइए पनि निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया भने अगाडि बढाएको थियो। यसले विवाद झन् चर्किएको सहभागीहरूले बताएका छन्। मतदाता सूचीमा देखिएको असन्तुष्टि र प्रक्रियागत कमजोरीका कारण अन्ततः निर्वाचन नै स्थगित गर्नुपर्ने अवस्था आएको हो।

निर्वाचन स्थगित भएसँगै अधिवेशनस्थलमा उपस्थित प्रतिनिधि तथा कार्यकर्ताबीच असन्तुष्टि देखिएको छ। कतिपयले निर्वाचन समितिको तयारीमाथि प्रश्न उठाउँदै पारदर्शी र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गर्न माग गरेका छन्।

रास्वपा बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि आयोजना गरिएको अधिवेशनमा निर्वाचन प्रक्रियामै अवरोध उत्पन्न भएपछि पार्टीभित्रको आन्तरिक व्यवस्थापन र संगठनात्मक तयारीबारे समेत बहस सुरु भएको छ। अब निर्वाचन समितिले मतदानकाे २४ घण्टा अगाबै आधिकारिक सूचना जारी गर्ने जानकारी दिएकाे छ ।

प्रतिक्रिया