साउनभित्र सञ्चालनमा आउने तयारीमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको तेस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। आयोजना प्रमुख सौजन्य नेपालका अनुसार टोल संकलन गर्ने कम्पनीसँग सम्झौता भइसकेको छ भने कर्मचारी तालिम र प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ।
सुरुङमार्ग सञ्चालनका लागि १५० जना कर्मचारी भर्ना गरिएको छ। आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ। सञ्चालन तथा मर्मतसम्भारको जिम्मा युसिन–एआरटी जेभीले आगामी पाँच वर्षका लागि पाएको छ।
मुख्य सुरुङको लम्बाइ २,६८८ मिटर र आपत्कालीन सुरुङको लम्बाइ २,५५७ मिटर रहेको छ। दैनिक करिब ८ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान गरिएको छ, जसबाट वार्षिक करिब ३५ करोड रुपैयाँ टोल शुल्क उठ्ने अपेक्षा छ।
राष्ट्रियसभा समितिको बैठकमा सांसदहरूले निर्माण सम्पन्न भइसकेको आयोजना सञ्चालनमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिएका छन्। कोभिड–१९ र प्राकृतिक विपद्का कारण केही ढिलाइ भए पनि अब थप ढिलाइ नगर्न उनीहरूको आग्रह छ।



