
सिस्नेरी–इपा–कोगटे–भीमफेदी सडक स्तरोन्नतिका लागि उच्चस्तरीय स्थलगत अनुगमन
मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको पहलमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. देनेन्द्र चन्द्र देवकोटासहित उच्चस्तरीय टोलीद्वारा सिस्नेरी–इपा–कोगटे–भीमफेदी सडकको स्थलगत अनुगमन गरेको छ।
उक्त सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गर्न बागमती प्रदेश सरकारको उच्चस्तरीय टोली स्थलगत अनुगमनमा पुगेको हो।अनुगमन टोलीमा मन्त्री देवकोटासहित बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्राविधिकहरू, प्रदेश पूर्वाधार निर्देशनालयका निर्देशक तथा पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुखलगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।
टोलीले सडकको वर्तमान अवस्था, स्तरोन्नतिका चुनौती तथा आगामी कार्यदिशाबारे स्थलगत अवलोकन गर्दै आवश्यक स्रोत सुनिश्चितताका विषयमा छलफल गरेको जनाएको छ।
अध्यक्ष हिदम लामाले लामो समयदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको सिस्नेरी–इपा सडक खण्डलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे। उनका अनुसार मन्त्री देवकोटाले स्वयं फिल्डमै पुगेर आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापनका लागि सकारात्मक आश्वासन दिएका छन्।
अनुगमनका क्रममा उक्त सडकलाई प्रादेशिक सडकका रूपमा सूचीकरण गर्ने, बहुवर्षीय ठेक्का प्रक्रियामा लैजाने तथा दिगो विकासको ढाँचामा अघि बढाउने विषयमा समेत सकारात्मक छलफल भएको अध्यक्ष लामाले जानकारी दिए।
वर्षौंदेखि कच्ची अवस्थामा रहेको तथा उकालो र वर्षायाममा भलले बगाएर खाल्टा–खुल्टी परेका कारण जोखिमपूर्ण बनेको यो सडक खण्डका कारण देउराली, इपा र कोगटे क्षेत्रका स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। मन्त्रीसहितको टोली गाउँमै पुगेर अनुगमन गरेपछि स्थानीयवासी उत्साहित भएका छन्।
सडक स्तरोन्नति सम्पन्न भएमा हेटौँडा र काठमाडौँ जोड्ने वैकल्पिक तथा छोटो मार्गका रूपमा समेत विकास हुने अपेक्षा गरिएको छ।


