शनिबार र आइतबार दुई दिनको छुट्टीमा विद्यार्थीलाई सीप सिकाउँदै हेटौँडा–४ नम्बर वडा

पालिका डायरी
३१ बैशाख २०८३, २१:२६

हेटौँडा  /  हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडाले आफ्ना वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई विभिन्न सीप प्रदान गर्ने भएको छ । वडाका विभिन्न विद्यालयका ७५ जना विद्यार्थीलाई व्यावसायिक तालिम प्रदान गरी सीप सिकाउन लागिएको हो । वडाका विद्यालयका कक्षा ९ का विद्यार्थीहरूका लागि सञ्चालन गर्न लागिएका कपाल काट्ने, ब्युटी पार्लर र इलेक्ट्रिक तालिमको संयुक्त रूपमा आज बिहीबार उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा हेटौँडा–४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले विद्यालयदेखि नै विद्यार्थीलाई सीप दिनुपर्ने बताउँदै विद्यालयबाटै विद्यार्थीलाई व्यावसायिक सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई सहभागी गराएर सीपमूलक तालिम सञ्चालन गर्न लागिएको र शनिबार तथा आइतबारको दुई दिनको छुट्टीमा जेठ र असार गरी दुई महिना तालिम सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरेले ४ नम्बर वडा कार्यालयले सीपमूलक तालिम सञ्चालन गरेर महत्वपूर्ण कार्य गरेको बताउँदै तालिमलाई उपयोगी बनाउन र सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष, शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष तथा श्रमिक माविका प्रअ श्रीराम दाहालले वडा कार्यालयको आयोजनामा यस्तो कार्यक्रम देशमै पहिलो र नयाँ हुन सक्ने बताउँदै तालिममा विद्यार्थीहरूको उत्साहजनक चासो रहेको बताउनुभयो ।

कार्यक्रममा वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माविका सहप्रअहरू भरत पोखरेल, वेदराज कोइराला तथा प्रशिक्षकहरूको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया