थाहा नगरमा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु शल्यक्रिया

पालिका डायरी
१३ बैशाख २०८३, १२:१५

मकवानपुरको थाहा नगरपालिकामा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा शिविरबाट सयौँ बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरमार्फत ९२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ, जसले ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराएको छ।

केन्द्रका नेत्र सहायक बिबेक राजथलाका अनुसार, शल्यक्रिया गरिएका बिरामीमध्ये ४६ जनाको फेको (Phaco) प्रविधिबाट र ४२ जनाको एसआईसीएस (SICS) विधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो। त्यस्तै, ४ जनाको आँखामा मासु पलाउने (प्टेरिजियम) समस्या सम्बन्धी शल्यक्रिया समेत गरिएको छ। शिविर अवधिभर ६८५ जनाको आँखा परीक्षण गरिएको थियो, जसबाट छनोट गरिएका बिरामीलाई शल्यक्रियाका लागि केन्द्रमा ल्याइएको थियो।

भिजन हिमालयन फाउन्डेसन, थाहा नगरपालिका तथा कैलाश गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविर बैशाख ७ गतेदेखि १० गतेसम्म थाहा नगरपालिकाका विभिन्न वडा तथा कैलाश गाउँपालिकाको गोगने क्षेत्रमा सम्पन्न गरिएको हो। शिविरमा हेटौँडास्थित आँखा अस्पतालबाट आएका आँखा विशेषज्ञ मोहिनी श्रेष्ठसहितको चिकित्सक टोलीले उपचार सेवा प्रदान गरेको थियो।

शल्यक्रिया पश्चात् आयोजित पट्टि खोल्ने कार्यक्रममा थाहा नगर प्रमुख विष्णु बिष्टले जनप्रतिनिधिहरूले पाउने भत्ताको सदुपयोग गर्दै स्थापना गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्रले अहिले छिमेकी पालिकाका नागरिकलाई समेत सेवा दिइरहेको उल्लेख गरे। उनले केन्द्रको स्तरोन्नतिका लागि नगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए।

उक्त कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायतको उपस्थिति रहेको थियो। शिविरले विशेषगरी कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाका दृष्टि समस्या भएका नागरिकलाई राहत पुर्‍याउँदै स्थानीय तहमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने प्रयासलाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया