४ करोड ५० लाख ठगी मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
पालिका डायरी
३ बैशाख २०८३, १४:४९
file photo
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब ४ करोड ५० लाख रुपैयाँ ठगी मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।
कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, कमल प्रसाद जवालीको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी भएको ठगीसम्बन्धी मुद्दामा फरार रहेका शान्तिराम पंगेनी र टिका पंगेनीलाई पक्राउ गरिएको हो। उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट गत चैत ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।
उक्त पुर्जी कार्यान्वयन गर्ने क्रममा बुधबार (हिजो) अपराह्न करिब ३:३० बजे काठमाडौं महानगरपालिका–७ क्षेत्रबाट दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
पक्राउ परेका मध्ये शान्तिराम पंगेनी (६२ वर्ष) स्याङ्जा घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्दै आएका छन् भने टिका पंगेनी (५८ वर्ष) पनि सोही ठेगानामा बसोबास गर्दै आएका छन् ।