परिवारबाटै नपत्याइएका प्रेम, जसले केराको बोटबाट बनाइरहेका छन् हाते कागज
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ देविडाँडाका प्रेमप्रसाद तिमल्सिनालाई उद्यमी बन्छु जस्तो कहिल्यै लागेको थिएन । २०४७ सालमा जन्मिएका प्रेमप्रसाद एसएलसीसम्म मकवानपुरगढीकै भानु माध्यामिक विद्यालयमा पढे। ६५ सालमा एलएलसी पास भएपछि उनी सवारीको सहचालक बने। २०६७ सालमा सवारी चालक अनुमती पत्र (लाइसेन्स) बनाएर गाडी चलाउँदै आएका उनलाई पढ्नको लागि परिवारले कर लगाए ।
सोही वर्ष हेटौंडाको चौघडामा रहेको वंश गोपाल क्याम्पसमा कक्षा ११ मा भर्ना भए। चालक बनेर गाडी हुँइक्याउने रस बसेका उनलाई किताबको अक्षरले मन तान्न सकेन । वर्षदिनभरीमा मुस्किलले ३ महिना जति हाजिर भए । पत्रकारिता विषय लिएर पढेका उनी कक्षा ११ मा भने पास भए । पढ्न मन लागि नलागि क्याम्पस गएका उनको ११ कक्षा कटेपछि १२ पढ्नैपर्ने बाध्यता आइलाग्यो। बावुआमाको डरले नै १२ कक्षामा पनि भर्ना भए। तर त्यतिबेला भने अनिवार्य अंग्रेजी र पत्रकारिता विषयको प्राक्टिकलमा फेल भए ।
थेउरीमा पास भएका उनलाई गाउँकै शिक्षकले जानाजान प्राक्टिकलमा नम्बर नदिएर फेल गराइदिएको भन्ने लागेर प्रेमबहादुरले पुरक परिक्षामा सहभागी नै भएनन् । सँगै पढेका उनका आफ्नै भाई होमनाथ तिमल्सिना पास हुँदा आफू फेल भएपछि उनले पढाई अगाडि बढाउने सोचेनन् । सानैदेखि इखालु स्वभावका उनको पढाई यत्तिकै रोकियो। ‘घर बसेर बाख्रा चराउनुभन्दा लाइसेन्स भएको मान्छे हुँ, बरु विदेश जान्छु’ भन्ने सोचले उनी विदेशको यात्रातर्फ तर्फ मोडिए ।
२०६८ सालमा साउदी अरब पुगेका उनले ८ वर्ष चालकको रुपमा काम गरे। सुरुवाती ३ वर्ष एकजना अरबी साहुको घरको निजी सवारी चलाए । घरका सदस्य बिरामी भए अस्पताल पुर्याउने, बच्चाहरुलाई विद्यालय लाने र ल्याउने देखि बजारबाट आवश्यक सामाग्री किनमेल गर्न समेत प्रेमबहादुरकै भर थियो । एउटै परिवार जसरी नै घुलमिल भएर बसेका उनले कहिल्यै अप्ठेरो दिनको सामना भने गर्नुपरेन। तर कमाइ भने चित्त बुझ्दो थिएन ।
तीनवर्षसम्म उनले गरेको मेहेनत देखेर ती साहुहरुले नै अर्को स्थानमा रोजगारीका लागि जोडिदिए । ४ वर्ष बसेर संघर्ष गरेपछि जोडिएको धनले प्रेमबहादुरको मन मोडाइदियो। ‘सधैँ अरुको देशमा कति चाकरी गर्नु? धेरै कमाएर पनि के गर्ने होर ? आ…… अब त आफ्नै देश जान्छु । बाख्रा पाल्छु । व्यवसायी बन्छु,’ मनभरी यस्तै आशा बुनेर साउदीबाट २०७५ सालको अन्तिमतिर नेपाल फर्किए ।
उनलाई लागेको थियो कमाएको पैसा सबै लगानी गरेर ठुलो बाख्रा व्यवसायी बन्छु । तर, घरमा आएपछि पशुधनको भर हुन्न भनेर परिवारले लगानी गर्नै दिएनन् । व्यवसायी बन्ने रहर बोकेका उनले २०७६ सालमा हेटौंडा–१६ स्थित जनप्रिय माध्यामिक विद्यालय तथा प्राविधिक शिक्षालयमा १८ महिने पशु प्राविधिक पढे । पढाईसँगै गाउँमै भेटेरिनरी र किराना पसल समेत खोले ।
पढ्दापढ्दै दोलखाकी सुनिता सिवाकोटीसँग उनको मागी बिवाह भयो। विदेश गएर कमाएको पैसा गाउँको पाखोबारीमा बाख्रा पालेर खेर फाल्नु हुँदैन भन्ने श्रीमतीको सुझाव मानेर २०७७ सालमा काठामाडौँ लागे । भेटेरिनरीको थेउरी सकाएका उनले प्राक्टिकल खुमलटारबाट दिने गरी क्याम्पसबाट चिठ्ठी बनाएर श्रीमती सहित उनी काठमाडौँ लागे ।

हातमा जानेको सीप सवारी चालक, अनि गोजीमा विदेशमा कमाएको पैसा । दुवैको सदुपयोग हुनेगरी ट्याक्सी किनेर चलाउन सुरु गरे । ट्याक्सी किनेको २ महिनामा कोरोना माहामारीका कारण लकडान सुरु भयो। काठमाडौँमा ५ वर्ष बिताएका उनले कमाउने भन्दा पनि सकाउने बाटोहरु मात्रै भेटे । कमाएको भन्दा बढी सकिएपछि श्रीमती लिएर काठमाडौँ पसेका प्रेमबहादुरले छोरा कोसेली लिएर गाउँमै फर्किए ।
साउदी अरबमा हुँदा भारतीय एक दम्पत्तिले केराको थम्बाबाट कागजको प्लेटहरु बनाएर आम्दानी गरेको भिडियो मोबाइलमा हेरेका उनले गाउँका केराको घारी झलझली सम्झन्थे। लकडाउनका बेला पनि गुगलमा सर्च गरीगरी केराको थम्बाबाट के के बनाउन सकिन्छ ? नेपालमा यस्तो कारखानाहरु छन् कि छैनन् ? भनेर हेरिहेका उनले सोही सीपलाई व्यवसायीक बनाउँछु भन्ने सोचे ।
‘गाउँ फर्किएपछि डेढ लाख पर्ने केराको बोटबाट फाइबर निकाल्ने मेसिन किनेँ, गाउँमा खेर गएका केराको बोटहरु बटुलेर फाइबर बनाउन थालेँ, उनी भन्छन्, ‘फाइबर मात्रै बिक्री गर्न पनि झन्झट र फाइदा कम हुने देखेपछि मेरो दिमागमा हाते कागज बनाउने सोच आयो। सिक्नको लागि कहिले तराई पुगेँ । कहिले चितवन पुगेँ । चितवनको कागज उद्योगमा त धर्ना बसे जसरी नै अडान कसेर केमिकल पनि ल्याएँ ।’

सुरु गर्नुअघि उनी चितवनमा रहेको एसियन कागज उद्योगमा पुगे । आफ्नो इच्छा उद्योग सञ्चालकहरुलाई सुनाए । केराको थम्बाबाट मात्रै कागज बन्दैन भन्ने सल्लाह उनीहरुले दिए । तर प्रेमबहादुरलाई जसरी पनि सफल हुनु थिया । कागज बनाउन चाहिने केमिकलका बारेमा अध्ययन गरे । एकपटक प्रयोगात्मक परिक्षणका लागि एसियन कागज उद्योगबाटै केमिकल मागेर ल्याए ।
सबै कुराको जोडजाम त भयो । तर समस्या थियो कहाँ राखेर कागज उत्पादन गर्ने ? आवश्यक सामाग्री कहाँ राख्नु ? प्रेम प्रसादका बुवा गोविन्द प्रसाद तिमिल्सनाले गाई पाल्नका लागि बनाएको एउटा गोठ थियो। सोही गोठमा मेसिनहरु राखेर काम सुरु गर्ने चाहनामा थिए उनी । तर गोविन्द प्रसादले कागज बनाउनका लागि अनुमति नै दिएनन्। ‘नगर तँइले यस्तो काम गर्न सक्दैनस् । तँबाट यो काम हुँदैन, भनेर बुवाले सधैँ रोक्नुहुन्थ्यो । तर मैले जबरजस्ती आफ्नै बलमा काम सुरु गरेँ, उनी भन्छन् ।’

केराको फाइबर गलाएपछि पेल्नका लागि प्रयोग गर्न उनले पुरानो मेसिन किने। सोही मेसिनलाई मर्मत गरेर चलाए । गोठमै पानी जम्मा हुनेगरी सिमेन्टको ट्याङ्की बनाए । सुरुवाती चरणमा उनीसँग जम्मा १३ वटामात्रै फ्रेम थियो । मनले चाहेको काम गर्न पाउँदा मन गद्गद् नै थियो । तर, उनलाई यही काम सुरु गर्दा परिवारका सदस्य कसैले पनि साथ दिएनन् । बिहान उठेदेखि साँझसम्ममा ३५÷४० वटा सम्म कागज बनाउथे ।
‘कहिले त म खाना खान पनि जान्नथेँ। दिनभरी काम गरिरहँदा परिवारको सदस्य कोही पनि फर्केर हेर्न समेत आउँदैन थिए । न श्रीमती, न आमा, न त बुवा नै, आँखाबाट झरेर गालाको डिलमा पुगेको आँशु दाहिने हातले पुछ्दै उनले थपे, ‘म बिहान उठेदेखि नै यहीँ नै हुन्थेँ । मलाई सफल हुनु थियो। न भोक लाग्थ्यो। न निन्द्रा लाग्थ्यो। बस् परिवारले साथ दिए सजिलो हुन्थ्यो जस्तो मात्रै लाग्थ्यो ।’
परिवार आफन्त जसले पनि यसमा काम गरेर हुँदैन मात्रै भन्थे । तर प्रेमबहादुरको एउटा बच्चैदेखिको साथी थिए । जसले उनको आँटमा इँटा थप्ने काम गरे । हाल इजरायलमा रहेका बिनोद सञ्जेल नामका गाउँकै साथीको सहयोगमा उनले २ सय वटा कागज बनाउने फ्रेम थपे । दिनमा मुस्किलले ४० वटा कागज उत्पादन गर्ने उनले फ्रेम थपेपछि १ हजार भन्दा बढी कागज दैनिक रुपमै उत्पादन गर्न थाले । मासिक ३०÷३५ हजार कमाई हुन थालेपछि परिवारका सदस्यहरुले उनलाई विस्तारै साथ दिन थाले ।
‘८४ वर्षको हजुरआमा हुनुन्छ, उहाँले मलाई सुरुबाटै सहयोग गर्नुहुन्थ्यो, उनी भन्छन्, ‘कागज उत्पादन राम्रो हुन थालेपछि, बजारमा सहजै जाने र मासिक आम्दानी सुरु भएपछि आमा, बुवा र श्रीमतीले पनि सहयोग गर्न थालेका छन् । अहिले म जत्तिकै उहाँहरु पनि खट्नुहुन्छ । अहिले सबैको साथ पाएको छु। त्यो बेला बिगार्ला । घाटामा जाला भने पनि होला सायद सहयोग गर्न नखोज्नु भएको ।’
अहिले उनी मकवानपुरको मात्रै नभएर बागमती प्रदेशकै सफल उद्यमीको रुपमा परिचय बनाइरहेका छन् । पहिले परिवारबाट पनि नपत्याइएका उनको चर्चा अहिले देशभर छ। देशका विभिन्न जिल्लाका उद्यमीहरु उनको सीप हेर्न आउने गरेका छन् । केरा काटिसकेपछि बारीमा यत्तिकै खेर जाने बोटबाट नेपाली हाते कागज बनाउँदै आएका उनले जिल्लामा नेपाली कागजको माग धान्न सकिरहेका छैनन् । आफूसँग भएको स्रोत र साधनलाई उपयोग गर्दै मासिक ४० देखि ५० किलोसम्म हाते कागज बनाउँदै आएका उनलाई अब भने सरकारले साथ दियोस् भन्ने चाहना छ ।

केराको फाइबर पकाउने मेसिनको आवश्यकता छ। आगोको साहारामा फलामको ड्रममा पकाउँदा त्यहीँबाट आफूलाई घाटा लागेको उनी बताउँछन् । ‘मेसिन भइदिए एकैपटकमा एउटै केमिकलले १ सय किलोसम्म फाइबर गलाउन पाइन्थ्यो, उनले थपे, ‘त्यो छैन। जसले २०÷३० किलो पकाउनको लागि पनि त्यति नै इन्धन र केमिकल खर्च भैरहेको छ। स्थानीय सरकार र प्रदेश सरकारले स्थानीय स्रोतको प्रयोगबाट उद्यम गरिरहेका उद्यमीहरुको लागि आवश्यक सामाग्रीहरु सहयोग गरिदियोस् भन्ने चाहना छ ।’
चुनौतीलाई चिर्दै, बाधाहरु पन्छ्याउँदै खेर गएको सामानबाट हाते कागज उत्पादन गरेर उद्यमी बनेका उनले अहिले मासिक १ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । उत्पादनसँगै उनलाई अहिले विभिन्न संघ संस्थाहरुले यस सम्बन्धी प्रशिक्षकको रुपमा समेत बोलाउने गरेका छन् । हाल उनको उद्योगमै करिब २० जना महिलाहरुले तालिम समेत लिइरहेका छन् ।
फरक खालको उद्यम प्रवद्र्धनका लागि बागमती प्रदेशको उदो वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, सोही मन्त्रालय मातहतमा रहेको उद्योग वाणिज्य कार्यालय, मकवानपुर, उद्योग वाणिज्य महासंघ मकवानपुर देखि उद्योग संघ मकवानपुरसम्मले प्राविधिक सहयोगहरु भने गर्दै आएको उनी बताउँछन् । उत्पादन भएको कागज बजारमा लान कुनै सकस छैन। बरु माग धान्न भने सकस भैरहेको उनको भनाइ छ ।



