प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको आरोपमा युट्युबर पक्राउ
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अपमानजनक शब्द प्रयोग गरी गाली गरेको आरोपमा पाँचथरमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।
‘hades’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाहलाई गालीगलौज गरेर कन्टेन्ट बनाएको भन्दै प्रहरीले स्थानीय युट्युबर रोशन पोख्रेललाई गिरफ्तार गरेको हो । उनी फाल्गुनन्द गाउँपालिका ७ घर भई सदरमुकाम फिदिममा बस्थे ।
प्रहरीका अनुसार उनले आफ्नो युट्युब च्यानलमा राजनीतिक व्यक्तिबारे टिकाटिप्पणी गर्ने गर्थे । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, उनले सार्वजनिक रूपमा प्रधानमन्त्री तथा अन्य नेताहरूको बेइज्जत हुने सामग्री युट्युबमा हालेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल र अनलाइन प्लाटफर्ममार्फत व्यक्तिको मानहानि गर्ने, गालीगलौज गर्ने तथा घृणा फैलाउने सामग्री प्रसारण गर्नु गैरकानुनी काम हो । यस्तै गतिविधि गरेको आरोपमा पोखरेलविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गत साइबर अपराधमा जिल्ला अदालतबाट शुक्रबार नै १० दिनको म्याद थप गरिएको छ । उनलाई चैत २६ गते नै पक्राउ गरिएको थियो ।
प्रहरीले यस्ता संवेदनशील सामग्री उत्पादन र प्रसारण गर्दा कानुनी परिधिभित्र रहेर जिम्मेवारपूर्ण अभिव्यक्ति दिन सबैमा आग्रहसमेत गरेको छ।


