रविले फोन गरेर सहयोग गर्छौँ, उपसभामुखमा उम्मेदवारी दिनुस् भनेका थिए: ज्ञानेन्द्र शाही
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फोन गरेर उपसभामुखमा समर्थन गर्ने बचन दिएको राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) ले दाबी गरेका छन् ।
प्रतिनिधि सभाको उपसभामुखमा राप्रपाबाट सरस्वती तामाङ र श्रम संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन् । रास्वपा प्रवक्ता मनिष झाले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएका छन् । ‘श्रम संस्कृति पार्टीका सासंद माननीय रुवीकुमारी ठाकुर (धनुषा) लाई रहने निर्णय भएको छ,’ प्रवक्ता झाले भने ।
रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि राप्रपा संसदीय दलका नेता शाहीले असन्तुष्टि जनाएका छन् । ‘रविजीले मलाई फोन गरेर भन्या हुन्– उपसभामुखमा उम्मेदवारी दिनुस्, सघाउँछौँ,’ शाहीले भने ।
आफूहरूले उपसभामुख नमागेको र सभापति लामिछानेले नै फोन गरेर सघाउने बचन दिएको उनको भनाइ छ। ‘हामीले फोन गरेर थोरै माग्यो हो र! आफैले फोन गरेर भनेका हुन्,’ शाहीले भने ।
रास्वपमा लामिछाने कमजोर रहेकाले समर्थन गर्ने निर्णय फेरिएको उनको जिकिर छ । ‘रविजी नै पार्टीभित्र कमजोर छन्, जस्तो लाग्यो,’ शाहीले भने, ‘मैले राजनीति इमानदारीका साथ गर्ने हो । उनको पार्टीमा उनी कमजोर रहेछन् भन्ने देखियो ।’



