टीकापुर नगरपालिकामा विषालु र अविषालु सर्प छुट्याउन सर्वसाधारणलाई प्रशिक्षण

पालिका डायरी
२४ चैत्र २०८२, १७:३२

कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्वसाधारणलाई सर्प पहिचान तथा सुरक्षित व्यवहार सम्बन्धी तालिम सुरु गरिएको छ।

नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा युवालाई लक्षित गरी विषालु र अविषालु सर्प छुट्याउने तरिका, सर्पदंशबाट जोगिने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने सावधानी तथा सर्प र मानिसको सुरक्षित उद्धार गर्ने सीपबारे प्रशिक्षण दिन थालेको हो।

टीकापुर नगरपालिका–१ ले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि छुट्याइएको बजेट अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो। गर्मीयाम सुरु भएसँगै सर्पदंशको जोखिम बढ्ने भएकाले करिब १०० टोल विकास संस्था, बडघर र सामुदायिक प्रतिनिधिलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको वडाले जनाएको छ।

वडाध्यक्ष मोहन लुहार विकका अनुसार यस क्षेत्रमा सर्पदंशको जोखिम उच्च रहेको र सर्प देख्नेबित्तिकै मार्ने प्रवृत्ति अझै कायम छ। उनले सर्पको पहिचान हुन सकेमा समयमै उपचारमा सहयोग पुग्ने र सर्प पनि वातावरणीय सन्तुलनका लागि महत्वपूर्ण हुनेबारे जनचेतना फैलाउने उद्देश्यले तालिम दिइएको बताए।

तराई क्षेत्र भएकाले टीकापुरमा विषालु सर्पको उपस्थिति बढी छ। सर्पले टोकेपछि धेरै मानिस आत्तिने तथा अविषालु सर्पसमेतलाई जोखिम ठानेर अनावश्यक रूपमा मार्ने प्रवृत्ति देखिएकाले प्रशिक्षित उद्धारकर्ताको आवश्यकता महसुस गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार समुदायस्तरमै सचेतना बढाउने उद्देश्यले प्रधानाध्यापक, टोल विकास संस्थाका पदाधिकारी लगायतलाई तालिम दिइएको हो। साथै, थप युवालाई सर्प उद्धारकर्ताका रूपमा तयार पार्न सूचना आह्वान गरिएको उनले जानकारी दिए। हाल एकजना मात्र उद्धारकर्ता रहेको र सबै स्थानमा पुग्न उनलाई कठिनाइ भइरहेको पनि उनले बताए।

टीकापुर अस्पतालमा सर्पदंशको उपचार सेवा उपलब्ध रहेको छ। अस्पतालका सूचना अधिकारी पदमराज भट्टका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ४७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन्।

नगरपालिकाले प्रारम्भिक चरणमा २० जनालाई तालिम दिएर दुर्घटना बीमा सहित प्रत्येक वडामा स्वयंसेवक उद्धारकर्ता परिचालन गर्ने योजना बनाएको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिइन्।

प्रतिक्रिया