लागुऔषध सेवन गरी सवारी चलाउने १२ चालक नियन्त्रणमा
मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत लागुऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई नियन्त्रणमा लिएको छ।
सोमबार (आज) जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मनहरी गाउँपालिका अन्तर्गत विभिन्न सडक खण्डमा गरेको आकस्मिक चेकजाँचका क्रममा ६५ वटा सवारी साधन परीक्षण गरिएको थियो। सो क्रममा १२ जना चालकले लागुऔषध सेवन (लापसे) गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लागुऔषध सेवन गरी सवारी साधन सञ्चालन गर्नुले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए। उनका अनुसार सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ।
सवारी चालकलाई लागुऔषध सेवन नगरी जिम्मेवार र सुरक्षित तरिकाले सवारी चलाउन समेत मकवानपुर प्रहरीले आग्रह गरेको छ।



