मन्त्रालयप्रति असन्तुष्टि पोख्दै हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मा राजीनामा बुझाएका हुन् ।
गत २०८१ साल जेठ २४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी रहँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’ लाई राजीनामाको मुख्य कारण बताएका छन् । राजीनामापत्रमा उनले तालुकदार मन्त्रालयको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पुँजीगत तथा चालू खर्च व्यवस्थापनका लागि पटक–पटक ऋण तथा अनुदानको माग गरे पनि मन्त्रालयबाट ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको उनको गुनासो छ ।
राजीनामापत्रमा उनले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता तथा चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालनमा राख्न सफल भएको दाबी गर्दै राजीनामापत्रमा हाल क्लिङ्कर उत्पादन र बिक्री प्रक्रिया नियमित रहेको उनले बताएका छन् ।


