इनिशाको शव १९ दिनदेखि अस्पतालमै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

पालिका डायरी
११ चैत्र २०८२, १६:३०
इनिशाको शव १९ दिनदेखि अस्पतालमै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-६ घर भई वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी इनिशाको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । गत फागुन २३ गते इनिशाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले इनिशा मृत्यु प्रकरणका सबै अनुसन्धान रिपोर्ट बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको बताए । प्रहरीले अनुसन्धान प्रतिवेदनबारे केही खुलाएको छैन ।

गत फागुन २३ गते बिहान ६ बजे ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर-४, स्थित जनजागरण सामुदायिक वनमा बिहान ९ बजे अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो । लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय किशोरलाई गिरफ्तार गरेको थियो भने अर्को दिन अन्य तीन जना किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेका थियो ।  इनिशाका आफन्तले सामुहिक बलत्कारपछि हत्या भएको भन्दै विरोध जनाएपछि घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिएको थियो । प्रहरीले इनिशाको मृत्युको कारण पत्ता लगाउन उच्च प्रविधिको प्रयोग गरेको थियो ।

यस्तै, पीडित परिवारले घटनामा संलग्नमाथि कारबाही नहुन्जेल शव नबुझ्ने अडान लिएका छन् । इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया