नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्ध भएर चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो।
नेकपा एमाले बागमती गाउँपालिकाको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेलाई जनताबाट अलग्याउन र पार्टीको विपक्षमा भ्रम सिर्जना गर्न अन्तर्राष्ट्रिय शक्ति नै लागेको तथा राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास–समृद्धिको पक्षमा दृढतापूर्वक उभिएको एमालेलाई कमजोर बनाउन खोजिएको बताउनुभयो।
उहाँले निर्वाचन परिणाम अनुकूल हुन नसके पनि पार्टीको पक्षमा उत्साहपूर्वक परिचालित सबै नेता–कार्यकर्तालाई धन्यवाद दिँदै अविचलित रूपमा देश, जनता र पार्टीको पक्षमा लागिरहन आग्रह गर्नुभयो।
बैठकमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले इतिहासमै नेपालका कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन संकटमा परेको र परिवर्तनकारी आन्दोलनको पक्षमा निरन्तर भूमिका खेलेको एमाले र नेतृत्वमाथि प्रहार भएको बताउनुभयो।
“हामी राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको सुदृढीकरण र विकास–समृद्धिको पक्षमा उभिएका छौँ, अझ दृढ भएर उभिन आवश्यक छ,” उहाँले भन्नुभयो, “जनताबीच हामीप्रति फैलाइएका भ्रमहरू चिर्न पनि आवश्यक छ।”
बैठकमा प्रदेश कमिटीका सदस्य छिरिङ दोर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायतले निर्वाचनको समीक्षात्मक मन्तव्य राख्नुभएको थियो।
पालिका कमिटी अध्यक्ष नरबहादुर घलानको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाइवाकलगायतको उपस्थिति रहेको थियो।
बैठकमा पालिकाका ९ वटा वडाका प्रतिनिधिहरूले निर्वाचनको समीक्षात्मक प्रतिवेदन पेश गर्नुभएको थियो।