हेटौंडामा हर्षोल्लासका साथ मनाइयो ईद
हेटौंडा / इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद-उल-फितर (ईद) देशभर हर्षोल्लासका साथ मनाइएको छ । मुस्लिम समुदायले पवित्र रमजान महिनाभरि रोजा (उपवास) बसेपछि आज शनिबार देशभर ईद मनाएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित जामे मस्जिद तथा अन्य जिल्लाका मस्जिदहरूमा बिहान विशेष नमाज अदा गरिएको छ । हेटौंडास्थित मस्जिदमा बिहान साढे सात बजे नमाज सम्पन्न भएपछि एकअर्कासँग अँगालो हाल्दै “ईद मुबारक” भन्दै शुभकामना आदानप्रदान गरी खुसी साटासाट गरिएको जामे मस्जिद समितिले जनाएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडासहित संघीय राजधानी काठमाडौं तथा तराईका जिल्लाहरू—बारा, पर्सा, रौतहट, बाँके, कपिलवस्तु लगायतका स्थानमा ठूलो संख्यामा मुस्लिम समुदायका मानिसहरू भेला भई सामूहिक रूपमा नमाज अदा गरेर खुसी साटासाट गरेका छन् ।
नमाजपछि एकअर्कालाई अँगालो हाल्दै “ईद मुबारक” भन्ने परम्परा रहँदै आएको छ । ईदको अवसरमा करिब ५०० भन्दा बढी मानिस मस्जिदमा भेला भएका थिए ।
ईदको अवसरमा घरघरमा विशेष परिकारहरू तयार गरिन्छन् । सेवइँ, खीर, मिष्ठान्न तथा विभिन्न प्रकारका मासुका परिकार बनाएर परिवार, छिमेकी तथा आफन्तसँग बाँडेर खाने गरिन्छ । यसले आपसी सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिन्छ ।
रमजान महिनाभरि गरिब, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्ने चलन पनि रहेको छ, जसलाई जकात तथा सदका भनिन्छ ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिकोणले ईदको विशेष महत्व रहेको छ । यो पर्वले केवल धार्मिक आस्था मात्र नभई सम्पूर्ण समाजलाई जोड्ने पुलको रूपमा काम गर्ने विश्वास गरिन्छ ।



