हेटौँडा बचत तथा ऋण सहकारीमा संस्थापक अध्यक्ष गौतम नेतृत्वमा आउँदै

पालिका डायरी
६ चैत्र २०८२, ०७:५६

हेटौँडा /  हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेतृत्वका लागि चुनावी रौनक सुरु भएको छ । २०५६ सालमा २६ जनाले स्थापना गरेको सहकारी हेटौँडाकै ठूलो रकम कारोबार गर्ने पुरानो सहकारीका रुपमा स्थापित हुँदा चैत १३ गते नेतृत्व चयनको तयारी भएको हो ।

हेटौँडा–७ मा कार्यालय रहेको सहकारीको अध्यक्षमा संस्थापक अध्यक्ष रामशरण गौतमले रुचि देखाएपछि निर्वाचन थप चर्चामा आएको छ । संस्था स्थापना गरेर २० वर्ष व्यवस्थापकका रुपमा कार्य गरेका गौतमले अध्यक्ष हुने चाहना राख्दै व्यवस्थापकबाट राजीनामा दिएपछि संस्थाको नेतृत्व चयन अरु रोचक बनेको छ । संस्थामा ७ हजार ४ सय सदस्य छन् । तीमध्ये वडा नम्बर ७ का मात्र २ हजार ८ सय सदस्य मतदाता भएकाले संस्थाको नेतृत्वमा गौतम अनुभवी, संस्थापक र वडाको मतदाताका हिसाबले पनि बलिया दाबेदार भएका छन् । उनी २०५४ मा एमालेबाट वडाध्यक्ष पनि भएका थिए ।

‘म सहित २६ जना मिलेर सहकारी स्थापना गरेका थियौँ, एकपटक फेरि सहकारीको नेतृत्व गर्ने चाहना गरेको छु,’ गौतमले भने, ‘हेटौँडामा एउटा स्थापित सहकारीका रुपमा हेटौँडा बचत तथा ऋण सहकारी संस्थाको पहिचान छ, नेतृत्वमा दाबी गर्दै व्यवस्थापकबाट बिदा भएको हुँु ।’ उनले सबैलाई समेटेर सहकारी थप व्यवस्थित र परिपक्व बनाउने प्रतिवद्धता जनाए । ‘सदस्यहरुले पनि नेतृत्वका लागि आग्रह गरेकाले तयार भएको हुँ,’ उनले भने ।

संस्थाले हेटौँडा–७ मा कार्यालय राखेर अन्य क्षेत्रमा पनि कारोबार गरिरहेको छ । हेटौँडा बजारका पनि ५ सय सदस्य रहेको सहकारीमा वडा नम्बर ६, ७, ८, ९, हेटौँडा बजार क्षेत्रसँगै वडा नम्बर १५, १६, १७ र १८ का पनि सदस्य रहेका छन् । निर्वाचनमा कम्तीमा पनि ४ हजार ५ सय भन्दा बढीले मतदान गर्ने भएकाले हेटौँडाकै मिनी निर्वाचनको झल्को हुने गरी सहकारीको निर्वाचन हुने संकेत गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ५९ करोड १६ लाख ६५ हजार रुपैयाँ बचत रकम संकलन गरेको सहकारीको कुल सम्पत्ति ७२ करोड रुपैयाँ भन्दा बढी छ । पुसमा भएको साधारण सभाले निर्वाचनको मिति चैत १३ गतेलाई तोकेको हो । सबै पदहरुमा मनोनयन भए पनि अध्यक्ष र कोषाध्यक्ष र लेखा समिति संयोजकमा चैत ८ गते मनोनयन मिति तोकिएको छ ।

४ करोड ११ लाख ७७ हजार रुपैयाँ जगेडा कोष रहेको सहकारीमा गत वर्षको तुलनामा संस्थाको कुल सम्पत्ति ६.४० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया