केशवलाल प्रतिष्ठान र न्यू डाइमण्ड विजयी
हेटौंडा / हेटौंडाको टिसिएन चौरमा सञ्चालन भइरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र न्यू डाइमण्ड क्लव विजयी भएका छन् ।
पहिलो खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले जनशक्ति युवा क्लव मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । प्रतिष्ठानले मधेश प्रदेशलाई हराउने क्रममा २५–१०, २५–१० र २५–१३ को जित निकालेको हो । दोस्रो खेलमा न्यू डाइमण्ड क्लव सामु मकवानपुर जिल्ला भलिबल संघ निरिह देखियो । डाइमण्डले मकवानपुर भलिबल संघलाई ३–० को सोझो सेटमा हराएको हो । डाइमण्डले २५–६, २५–६ २५–११ को सेटमा हराएको हो । मकवानपुर उद्घाटन खेलमा लुम्बिनी प्रदेशको स्टेप भलिबल टिमसँग पनि पराजित भएको थियो । योसँगै मकवानपुर खेलबाट बाहिरिएको छ ।
जारी प्रतियोगितामा शुक्रबार न्यू डाइमण्ड क्लव र स्टेप भलिबल क्लवको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र ब्राइट फ्युचर स्पोर्ट क्लव खेल्नेछ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत बुधबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । सहभागी ६ टिमलाई २ समूहमा विभाजन गरी खेलाइएको छ । समूहको विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्नेछन् । यही चैत्र ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद ३ लाख रुपैयाँ तथा उपविजेता टिमले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सेमीफाइनलमा पराजित हुने दुई टिमले समान नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा अन्य विधागत उत्कृष्ट खेलाडीलले नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए । महोत्सव अन्तर्गत यसअघि जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता, जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता र जिल्लास्तरीय कराँते प्रतियोगिता सम्पन्न भैसकेको छ । चैत्र ११ देखि १३ गतेसम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुनेछ ।



