शव गाडीमा पठाएर हेलिकप्टरमा गएका थिए बेलायतबाट आएका आफन्त
खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छामा भएको हेलिकप्टर दुर्घटनामा बेलायतबाट फर्किएका परिवार सवार रहेको खुलेको छ।
बेलायती सेनाबाट अवकास भएका डाकमनी राईकी पत्नी मनलक्षीको निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि हेलिकप्टरमा थातथलो फर्किएका थिए।
केही दिन पहिले नै बेलायतमा मृत्यु भएकी पत्नीको शव लिएर फर्किए पनि काठमाडौँबाट हेलिकप्टरमा शव रहेको बाकस नअटेपछि शव गाडिमा पठाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए।
शव गाडीमा पठाए पनि बिरामी समेत रहेका डाकमनी, अन्तिम संस्कारमा गएका पास्टर र आफन्त हेलिकप्टरमा सवार थिए।उता गाउँमा हेलिकप्टर अवतरण गर्ने स्थान पनि तयार गरिएको थियो। बारीमा तयार गरिएको हेलिप्याडभन्दा केही डिलमा सुरुमा अवतरण गरेको हेलिकप्टर सार्न खोज्दा दुर्घटना भएको हुनसक्ने भिडिओमा देखिन्छ।
हेलिकप्टर पल्टिँदै अवतरण गरेको भन्दा माथिल्लो गरामा पुगेर भित्तामा ठोकिएको थियो। मध्यान्ह १२ बजेर २ मिनेटमा पुगेको एयर डाइनेस्टीको ९ एनएफक्यू हेलिकप्टर दुर्घटनामा एक जना घाइते भएका छन्।
हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए। यात्रुमध्ये काजीबहादुर राई घाइते भएका छन्। घाइते काजीमान र पाइलट सविन थापालाई एयर डाइनेस्टिकै अर्को हेलिकप्टर गएर काठमाडौँ ल्याएको छ।



