रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

पालिका डायरी
२ चैत्र २०८२, ११:०५
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान file photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको छ ।  उक्त रिटमाथि आज पनि निरन्तर सुनुवाइ अगाडि बढाउने तयारी छ ।  न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा आइतबार यो मुद्दाको सुनुवाइ भएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन अदालतमा पेश गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने भएका छन् । मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन् ।

यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि रविविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ ।

प्रतिक्रिया